काठमाडौं । नेपाली सुगम संगीतका धरोहर योगेश वैद्यको महाप्रस्थानले संगीत क्षेत्र स्तब्ध बनेको छ । ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’जस्ता कालजयी गीत गाएका वैद्यले बिहीबार राति अन्तिम सास लिए ।

२०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि वैद्य एकाएक चर्चित भए । त्यतिबेला चलेको भाषिक आन्दोलनमा सक्रिय भएका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण लगायतको समर्थन थियो ।

२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गाएपछि उनको चर्चा झनै चुलियो । ‘नेपाल मेरो उपहार भो’लाई मबीबी शाहले लेखेका हुन् । यो गीत वैद्यको आवाजमा २०२७ सालमा रेकर्ड भयो ।

२०४४ सालमा उनले रेकर्ड गराएको ‘सपना भुलाई सारा’ आजपर्यन्त मर्मस्पर्शी छ । यो गीत रेकर्ड हुँदा रचनाकार को हुन् भन्ने वैद्यलाई थाहै नभएको उनी निकट बताउँछन् । सरकारी जागिरे भएपनि संगीतप्रतिको उनको निष्ठा र मोह कहिल्यै अलग भएन ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे । संगीतमा सात दशक बिताएका वैद्यले नेपाली संगीतमा सांगीतिक पदचाप छाडेर गएका छन् ।

उनलाई नजिकबाट चिन्ने हितैषी र संगीतकर्मी वैद्यलाई कुशल गायक, गीतकारको रुपमा चिन्छन् । नेपाली मौलिक गीत-संगीतलाई अन्तर्राष्ट्रियरुपमै फैलाउनुपर्छ र छिमेकी मुलुकको संगीतको तुलनामा प्रतिस्पर्धी हुनुपर्छ भन्ने उनको सोच रहेको निकट संगीतकर्मी बताउँछन् । जसमध्ये एक हुन् शम्भुजीत बास्कोटा । शम्भुजीतले अनलाइनखबरसँगको कुराकानीमा यसरी वैद्यलाई सम्झिएका छन् :

योगेश वैद्य दाइको योगदानको बारेमा राष्ट्रले कसरी बोल्छ थाहा छैन, उहाँ सुगम संगीतको लागि उहाँ संरक्षक हुनुहुन्छ । उहाँले समयसमयमा दिएका अभिव्यक्ति, उहाँले गाएका गीतहरु, उहाँको गीतसंगीत छनोटका कुरा गर्दा उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्छ ।

उहाँले बीचमा मेलोडी, आधुनिक गीत, सदाबहार गीतहरु गुञ्जिरहोस् भन्ने आशय बोक्नुभएको थियो । नेपालको संगीत क्षेत्रले उज्वल भविष्य पाओस्, नेपाली गीतसंगीतका स्रष्टा पनि छिमेकी मुलुकका कलाकारजस्तै प्रतिस्पर्धामा उत्रिन सिक्नुपर्छ र आफ्नो आवाजका मौलिकतालाई विश्वभर फैलाउन सक्नुपर्छ भन्ने भावना राख्नुहुन्थ्यो ।

उहाँले पहिले पनि नेपाली र नेपाल भाषाका अनेक गीत गाएर योगदान पुर्‍याउनुभएको छ । उहाँ नेपाल सरकारको कर्मचारी पनि हुनुहुन्थ्यो, उहाँले वैद्यखानमा बसेर काम गर्नुभयो । नेपाली संगीतका स्रष्टालाई सदा सुझाव दिने काम गर्नुहुन्थ्यो ।

नातिकाजी स्मृति समाजका उहाँ संस्थापक सल्लाहकार पनि हुनुहुन्छ । उहाँ नातिकाजीका पनि प्रिय गायक हो । आज बिहान पनि मैले बच्चु कैलाश दासँग कुरा गरेको थिएँ । वैद्य दाइको निधनमा उहाँले पनि दुःख प्रकट गरिरहनुभएको थियो । मैले योगेश दाइको योगदानको बारेमा जति पनि बताएँ नि, त्यो त उहाँले गरेको सरल र प्रत्यक्ष देखिने कामका विषयवस्तु मात्र हुन् ।

उहाँले कविता लेख्नुहुन्थ्यो । आफै गीत लेख्नुहुन्छ । संगीत गर्नुहुन्छ । मलाई लाग्छ उहाँको घरमा धेरै सिर्जना त्यत्तिकै थन्किएका छन् अझै पनि । तीन दिन अगाडिसम्म म कुरा गर्दै थिएँ । मानिसको जीवन सोच्नै नसक्ने हुने रहेछ । ‘सपना भुलाई सारा’ भन्याजस्तो ‘यो लामो जीवनमा किन म हतास हतास छु’, उहाँका गीतले जीवन बोकेको हुन्छ । जीवनको यथार्थतालाई अँगालेको हुन्छ ।

उहाँलाई धेरै मिस गरिराखेको  उहाँ मखमली आवाजको धनी हो । उहाँको आवाजको फ्यान हुँ । मेरा केही गीतहरु गाउनुभएको छ ।  उहाँ जाँदै हुनुहुन्छ तर उहाँले छाडेका कृतिहरु, उहाँका संगीतहरु, मधुर आवाजहरु हामीसँगै रहिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0