काठमाडौं। सफलताको कुनै ठोस र अन्तिम बिन्दु भने हुँदैन । तर, दृढ इच्छा शक्ति र केही गर्ने हुटहुटी हुने हो भने सफलताको शिखर त्यति टाढा पनि छैन।

सामान्य रूपमा भन्नुपर्दा यथास्थितिबाट केही माथि उठ्नुलाई सफलताको मानक मान्न सकिन्छ । यस्तै सफलताको एक उदाहरणीय पात्र हुन् जाजरकोटकी योगमाया कार्की ।

समाजमा केही योगदान दिनुपर्छ भन्ने हुटहुटीले आज उनलाई खलंगा साना किसान सहकारीको अध्यक्ष बनाएको छ।

भेरी नगरपालिका वडा नम्बर ४ रामजानकी टोलकी योगमाया कार्की एक किसान हुन् । उनले व्यावसायिक रूपमा लोकल कुखुरा र च्याउ खेती गर्छिन् । अहिले पनि उनको फार्ममा पाँच सयभन्दा धेरै लोकल कुखुरा छन् ।

आफूले मात्र व्यवसाय नगरेर सिंगो रामजानकी टोललाई कृषि तथा पशुपालन व्यावसायमा लाग्न उनी हौसाइरहन्छिन् । आफू मात्र नभएर सिंगो समाजलाई आर्थिक रूपमा सवल र आत्मनिर्भर बनाउने उनको सोच छ ।

यही सोचलाई मूर्तरूप दिन उनले चार वर्षपहिले एउटा समूह बनाइन् । उनले सहकारी दर्ता गरिन् ।

उनले स्थापना गरेको खलंगा साना किसान सहकारी संस्थामा अहिले पाँच सय १५ जना किसान आबद्ध छन् । सहकारीले विभिन्न संघ-संस्थामा निवेदन दिएर किसानका लागि सहयोग जुटाइरहेको छ। सहकारीले सरकारबाट प्राप्त हुने सहयोग पनि किसानलाई वितरण गरिरहको छ।

जाजरकोटलाई मौरीपालन जोन क्षेत्र घोषणा गरिएको छ। जाजरकोटको रामजानकी टोल सोही जोन अन्तर्गत पर्छ । परियोजनाले मौरीपालनका लागि २७ वटा घार ५० प्रतिशत अनुदानमा सहकारीलाई दियो र सहकारीले १० जना किसानलाई वितरण गर्‍यो । हाल सो घारमा मौरीपालन गरी किसानहरू आफ्नो जीविका चलाइरहेका छन् । उनीहरूले आफूले पाएको घारमा थप केही थपिसकेका छन्।

उनले भनिन्, ‘परियोजनाले हामीलाई ५० प्रतिशत अनुदानमा दिएको भनेको त्यही २७ वटा मौरीको घार मात्रै हो, ३२ सय पर्ने मौरीको घार १६ सयमा पायौं ।’

उनले कृषि कार्यका लागि प्रस्तावना धेरै पटक पेश गरे पनि सरकारी तवरबाट खासै सहयोग नभएको गुनासो गरिन् । ‘हामीले धेरै प्रस्ताव लिएर गयौं तर कुनै पनि प्रस्ताव पास भएको छैन, मौरी घार मात्रै पाएका छौं,’ उनले भनिन्।

सरकारी तवरभन्दा पनि अन्य संघ(संस्थाले सहयोग गरेको उनले सुनाइन् । गत महिना मात्रै सहकारीले ‘इन लाम हेलपिटास नेपाल’को आर्थिक सहयोगमा ९० मौरी घार किसानलाई बाँड्यो । ‘इन लाम हेलपिटास नेपालको आर्थिक सहयोगमा हामीले ९० वटा मौरीसहितको घार ३० जना किसानलाई वितरण गर्‍यौं,’ उनले सुनाइन्, ‘हामीले दाङबाट मौरीको घार र पाल्पाबाट पाँच फेरे मौरी ल्याएका छौं, एउटा घारको १२ सय ५० पर्‍यो भने मौरीलाई १२ सय ५०।’

अब अर्को चरणमा हेलपिटासको सहयोगमा ६० जना किसानलई मौरीसहितको घार वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताइन्।

सहकारीले हेलपिटास संस्थासँग समन्वयन गरेर साना किसानहरूलाई सात दिन उद्यमशीलताको तालिम गाउँ(गाउँमा नै गएर प्रदान गरेको उनले बताइन्। उद्यमशीलता तालिमले किसानहरूको जीवनस्तर उकास्न धेरै टेवा पुग्ने उनले विश्वास लिएकी छिन्।

अन्य संस्थासँग समन्वयन गरेर खलंगा साना किसान सहकारीले मौरी पालनको तालिम पनि दिइरहेको छ। ‘मौरी सम्बन्धी तालिम पाएपछि किसानहरूले कसरी मौरीको घार सफा राख्ने, मौरीलाई के कस्तो रोग लाग्छ, कुन रोग लाग्दा कसरी उपचार गर्ने भन्ने सबै सिके र सोही अनुसार किसानहरूले आफ्नो मौरीको हेरचाह गरिरहेका छन्,’ उनले भनिन्, ‘तालिम लिएपछि मौरीपालनमा धेरै परिवर्तन आएको छ। मह पनि राम्रो उत्पादन भएको छ। किसानहरू खुसी छन्।’

 

किसानहरूले पालेको सेरेना प्रजातिको मौरी हो। मौरीमा सेतो पुतलीको संक्रमणले रोग लाग्छ र मौरी कुहिएर मर्छ। मौरीको घार फोहोर भएरपछि यस्तो रोग लाग्ने विज्ञहरूले बताएपछि उनीहरूले मौरीको घारको सरसफाइमा धेरै ध्यान दिए। एउटा घारबाट वर्षमा तीन पटक मह निकाल्ने गरेको उनले बताइन्। किसानहरूले एउटा घारबाट औसतमा वर्षिक २० किलो मह उत्पादन गर्छन्।

रामजानकीबाट उत्पादित मह जाजरकोटको स्थानीय बजार खलंगा, नलगढ, रुकुमको चौरजहारीमा १२ सय रुपैयाँ प्रतिकिलो बिक्री हुन्छ। सरकारले किन्ने भयो भने केही सस्तो दिने उनले बताइन्। अलि धेरै उत्पादन भयो भने सहकारी सबै किसानको मह किनेर बुटवल र काठमाडौंतिर पठाउने उनले बताइन्। कार्की भन्छिन्, ‘सरकारले अनुदान दिएको र हामीलाई तालिममा सिकाएअनुसार उत्पादन धेरै गरी कम मूल्यमा बेच्नुपर्ने हुन्छ। अहिले स्थानीय बजारमा चलेको मूल्यदर ठिकै छ, अब सरकारले किन्यो भने केही घटाउन सकिन्छ।’

मौरीमा धेरै लगानी गर्न नपर्ने र एक पटक गरेपछि सधैंलाई पुग्ने उनको भनाइ छ। उनले भनिन्, ‘हामीले तीन वटा मौरी घार दिएका किसानले अहिले आठ वटा बनाइसके। मौरी धेरै भएपछि गोला फुटाएर अर्को घारमा सार्न सकिन्छ। हामीले दिएको एक घार मौरीको गोला फुटाएर किसानले तीन बनाए। यसरी मौरी घार फस्टायो भने अन्यत्रबाट मौरी लाउने झन्झट पनि हुँदैन।’

जोनमा मौरीका लागि चरनको अभाव रहेको उनी बताउँछिन्। नजिकैको जंगलमा मह बनाउन आवश्यक पर्ने फूल नभएपछि मह कम उत्पादन हुन्छ। सरकारले अनुदान पनि ५० प्रतिशत मात्र नदिएर ८० प्रतिशत दिनुपर्ने उनको माग छ। सरकारले किसानलाई २० प्रतिशत मात्र लगानी गर्न लगायो भने मौरीको घार पनि सस्तो पर्छ। यसले मौरीपालनका लागि किसानलाई प्रेरित गराउने उनको भनाइ छ।

मौरीको घार निकै महंगो भएकाले ५० प्रतिशत अनुदान कम भएको उनले बताइन्। परियोजनाका विज्ञहरू मौरीको घार दिएपछि मौरीपालन भएको या नभएको हेर्न तथा निरीक्षण गर्न नआएको उनले गुनासो गरिन्। यसका साथै परियोजनाले मौरीपालन सम्बन्धी कुनै तालिम पनि नदिएको उनले बताइन्।

परियोजनाले मौरी जोन घोषणा गरे पनि सरकारी तवरबाट कुनै सहयोग नपाएपछि सहकारीले हेलपितास संस्थासँग पाँच वर्षको सम्झौंता गरी मौंरीपालनबारे विभिन्न कार्यक्रम गर्दै आएको छ । “अब मौंरी पाल्नका लागि घार पनि हामी आफैं नैं निर्माण गर्दैछौं । हेलपिटासको आर्थिक सहयोगमा पाँच(सात जना किसानलाई घार बनाउने तालिम दिएका छौं” उनले भनिन्”किसानलाई व्यावपायिकरुपमा कसरीअगाडि बढाउन सकिन्छ भन्नेबारेमा हामी बृहत छलफल गर्दैछौं ।”

माघ-फागुन महिनामा मौंरीकोगोला फुटाउनु पर्नेभएकाले किसानले घार मागिरहेको उनले बताईन् “यस विषयमा मैंले परियोजना कार्यालयमा कुरा पनि  राखेकी छु । हुन्छ भन्नुभएको छ, हेरौं कहिलेसम्म दिनुहन्छ,” उनले भनिन् ।

– पत्रपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0