काठमाडौं । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।
अस्तुसमेत पठाउन रुसको इन्कार
‘हामीले पटकपटक नेपालीको शव पठाउन अनुरोध ग¥यौ तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो ।
यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय ‘अस्तु पठाइदेऊ’ भनेका छौं तर जवाफ अझै आएको छैन ।
रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनसार सद्गत गर्ने कुरा उल्लेख भएको हुन्छ । सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीको शव नेपाल पठाउन इन्कार गरेको हो ।
गत असारदेखि रुसमा मारिएका नेपालीको शव नेपालले ल्याउन सकेको छैन । रुसी सेनामा भर्ना भएका मध्ये हालसम्म १० जना नेपालीको मृत्यु भइसकेको छ । गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो । ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको थियो । यसअघि मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले गत १६ मंसिरमा विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको थियो । कात्तिक २९ गते मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै ८ मंसिरमा परराष्ट्र मन्त्रालयमा पत्र पठायो । त्यसपछि नेपालले औपचारिक रूपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकार गरेको थियो ।
नेपालीहरूको मृत्यु हुने क्रम बढेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर रुसमा नजान र आफ्नो नागरिकलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरेको थियो । तर रुसले नेपालीको आग्रहलाई इन्कार गर्दै सेनामा भर्ती गर्ने क्रमलाई निरन्तरता दियो ।
४ पुसमा परराष्ट्रले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।
गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्नेबित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो । तर, सोही देशमा सेना भएर युद्ध लड्न नेपाली लामबद्ध भइरहेका छन् । संयुक्त राष्ट्रसंघमा विभिन्न निकायमा भएका प्रस्तावमा पनि नेपालले युक्रेनलाई साथ दिएको थियो । राष्ट्रसंघमा नेपालले खुलेर युक्रेनको पक्ष लिएका कारण पनि रुस नेपालसँग असन्तुष्ट छ ।
कति छन् वैधानिक रूपमा रुस पुगेका नेपाली ?
रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि पुससम्म श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुन सक्ने अनुमान छ । वैदेशिक रोजगार विभागको तथ्यांकनुसार वैशाखमा १७, जेठमा १ सय ७९, असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् ।